Banking Khabar
Heading2

एनआईसी एशिया बैंककाे सीइओमा पुन: रोशन न्यौपाने

November 3, 2022
सेयर:

काठमाडाैं । एनआईसी एशिया बैंककाे प्रमुख कार्यकारी अधिकृतमा पुन:राेशन कुमार न्याैपाने नियुक्त भएका छन् । बैंककाे कात्तिक १६ गते बुधबार बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्त गरेको हाे ।

हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले मंसिर १५ गतेदेखि लागू हुनेगरी सीइओ पदमा थप ४ वर्षको अवधिको लागि पुन: नियुक्त गरेकाे हाे ।

सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपालमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको २०७५ मंसिर १६ को ३७९ औं बैंठकले उनलाई मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भए । रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ्ग क्षेत्रमा उदयमान भएका थिए ।