गभर्नरलाई पत्र: लगानीकर्ता प्रति तपाई किन यति कठोर, निर्दयी, निर्मम र गैर जिम्मेवार बन्दै हुनुहुन्छ?

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

१.हिजो बजार ३२०० को विन्दुमा जोखिम देखियो, त्यहिँ अनुरूप सेयर कर्जाको जोखिम भार १००% देखी १५०% पुर्याइयो ठीक छ, तर आज बजार १८०० को विन्दुमा रहँदा के कति जोखिम देखियो र कर्जाको जोखिम भार १५०% नै कायम गरिएको छ? जोखिम अवस्थामा ल्याइएको नीतिलाई सहज अवस्थामा खुकुलो गराउन यहाँलाई कसले रोक्यो?

२.हिजो बजार ३२०० को विन्दुमा पुग्दा बैंक तथा वित्तीय संस्थामा पनि तरलतामा संकुचन देखियो, उक्त अवस्थालाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थालाई पूँजी बजारमा लगानी गर्न निरुत्साहित गरियो ठीक छ तर आज तरलता फालाफाल भई अन्य क्षेत्रमा कर्जा परिचालन हुन नसक्दा पनि सो नीतिलाई परिवर्तन गर्न यहाँलाई कसले रोक्यो?

३.हिजो बजार ३२०० को विन्दुमा पुग्दा बैंक वित्तीय संस्थाले एकल ग्राहक  र संस्थागत लगानीकर्तालाई लगानी गर्ने सेयर कर्जालाई कडा गर्न ४/१२ जस्ता नीति ल्याइयो ठीक छ, तर आज पर्याप्त तरलता रही अन्य क्षेत्रमा कर्जाको माग नरहँदा पनि सो कर्जामा लगाइएको सिमा हटाउन वा एकल ग्राहक सीमा न्यूनतम ४०-५० करोड र संस्थागत तर्फ पूर्ण रुपमा खुल्ला गर्न यहाँलाई कसले रोक्यो?

४.दुई बर्ष अघि विदेशी मुद्रा संचितिमा संकुचन आयो भनेर कुल मागलाई संकुचित पारी आयात लाई घटाउन लगाईएका नीति आज बैंक वित्तीय संस्थासँग पर्याप्त तरलता र विदेशी मुद्राको संचिति ( करीब एक वर्षको आयात धान्न सक्ने) हुँदै गर्दा पनि बजारमा माग सृजना गराएर बजार चलाएमान गराउन यहाँलाई कसले रोक्यो? के माग खुम्च्याउन भूमिका खेल्ने राष्ट्र बैंकले माग सृजना गर्न भूमिका खेल्नु पर्दैन?

कुनै पनि नीति नियम सर्वकालीन, सर्वमान्य र सधैका लागि भन्ने हुँदैन। समय र अवस्था अनुरूप नीतिमा परिवर्तन आवश्यक रहन्छ। प्रिय गभर्नर ज्यु, मलाई थाहा छ नेपालको अर्थतन्त्रको बारेमा यहाँलाई राम्रो ज्ञान छ, यो देशको अर्थतन्त्रको बारेमा जति एक सामान्य नागरिकलाई चिन्ता छ, यहाँलाई पनि त्यतिकै चिन्ता छ, यो देशले आर्थिक रूपमा छलांग मारेको हेर्न यहाँ पनि चाहनु हुन्छ, उत्पादनमुखी अर्थतन्त्र, रोजगार सृजनात्मक अर्थतन्त्र, निर्यातमुखी अर्थतन्त्र, प्रतिस्पर्धात्मक अर्थतन्त्रको परिकल्पना यहाँमा पनि पक्कै छ, तर यति सबै हुँदा पनि, उधोगी, ब्यवसायी, र लगानीकर्ता प्रति तपाई किन यति कठोर, यति निर्दयी, यति निर्मम, यति गैर जिम्मेवार बन्दै हुनुहुन्छ? किन तपाईका बारेमा यति धेरै नकारात्मक टिप्पणी सामाजिक संजाल भरि छरपस्ट छन? मौद्रिक नीतिको समिक्षा आउन महिनौ दिन ढिलो हुँदा पनि, समीक्षा नआए आकाश नै खस्दैन भन्ने जस्ता गैर जिम्मेवारीपूर्ण जवाफ किन दिरहनु भएको छ?

प्रिय गभर्नर ज्यु, यहाँले दुई बर्ष अघि लगाउनु भएका अधिकांश नीतिको म पनि प्रसंशक नै हो तर दुई बर्ष अघि र आजको अवस्था र समय एउटै होइन, अवस्था र समयमा धेरै परिवर्तन भैसकेको छ। यो सब कुराको पनि यहाँलाई राम्रो ज्ञान छ । तसर्थ कुनै विलम्ब नगरी, रिस, राग, कुण्ठा र कतैबाट परिचालित नभई एक महीना भन्दा ढिलै गरि आउन लागेको मौद्रिक नीतिको पहिलो समीक्षा मार्फत माथि पेश गरिएका सम्पूर्ण नीति हरुमा आवश्यक हेरफेर गरी बजार चलाएमान गराउन महत्वपुर्ण भुमिका खेल्न हार्दिक अनुरोध गर्दछु।

धन्यबाद, बाँकी मौद्रिक नीतिको समीक्षापछि..

बजारको लगानीकर्ता

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp