Banking Khabar
Heading3

कामना सेवा बैंकद्वारा भूमिसुधार कार्यालय पुनःनिर्माण, प्रहरीलाई सहयोग

September 15, 2025
सेयर:

काठमाडौं, भदौ ३०, २०८२ – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत भूमिसुधार तथा मालपोत कार्यालय, विराटनगरको पुनःनिर्माण गर्ने घोषणा गरेको छ। जेन जीको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा जलेर नष्ट भएको मोरङस्थित मालपोत कार्यालयको मर्मतसम्भार समेत बैंकले गर्न लागेको हो।

पुनःनिर्माण सम्बन्धी सम्झौतामा मालपोत कार्यालय विराटनगरका तर्फबाट मालपोत अधिकृत अजय राजवंशी र बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुषालले हस्ताक्षर गरेका छन्। बैंकका अनुसार, हाल कार्यालय जलेर नष्ट भएको सम्पूर्ण विवरण संकलन भइरहेको छ र विवरण संकलन सकिएपछि पुनःनिर्माणको काम सुरु हुनेछ।

यसैक्रममा, आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, पथरीका उपकरणसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि कार्यालय सञ्चालनमा गम्भीर समस्या परेको अवस्थामा, कामना सेवा बैंकले तत्काल आवश्यक कम्प्युटर हस्तान्तरण गरेको छ। बैंकका कोशी प्रदेश प्रमुख भुषालले उक्त कम्प्युटर इलाका प्रहरी कार्यालयका डिएसपी तुलसी प्रसाद अर्याललाई हस्तान्तरण गरेका हुन्।

डिएसपी अर्यालले सहयोगले प्रहरी कार्यालय सञ्चालनमा ठूलो राहत पुगेको भन्दै बैंकप्रति आभार व्यक्त गरे। सो अवसरमा बैंकका प्रदेश प्रमुख भुषालले कामना सेवा विकास बैंकले विभिन्न समुदायमुखी गतिविधि गर्दै आएको र संकटका बेला सहयोग गर्न पाउँदा खुशी लागेको बताए।

बैंकले आगामी दिनमा अन्य स्थानका वडा कार्यालय, मालपोत कार्यालय र प्रहरी कार्यालयहरूको पुनःनिर्माण तथा मर्मत सम्भारमा समेत सहकार्य गर्ने जनाएको छ।