१ महिनापछि पुनः चल्ने भयो भोटेकोशी जलविद्युत् आयोजना, स्थानीयलाई १० प्रतिशत शेयर दिने सहमति
२७ असोज, काठमाडौं । करिब एक महिनादेखि बन्द रहेको ४५ मेगावाट क्षमताको भोटेकोशी जलविद्युत् आयोजना अब पुनः सञ्चालनमा आउने भएको छ। आइतवार भएको सर्वपक्षीय बैठकपछि आन्दोलनरत स्थानीय र भोटेकोशी पावर कम्पनीबीच सहमति जुटेपछि आयोजनाको विद्युत् उत्पादन सुचारु हुने बाटो खुलेको हो।
भोटेकोशी पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विक्रमरत्न स्थापितका अनुसार कम्पनीले १०० रुपैयाँ दरमा १० प्रतिशत शेयर स्थानीयलाई दिने सहमति भएको छ। सो शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) मार्फत वितरण गरिने र स्थानीयले बैंकबाट कर्जा लिएर खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ। कर्जाको ग्यारेन्टर कम्पनी आफैं रहने सहमति भएको उनले जानकारी दिए।
सहमति सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको रोहबरमा भएको हो। वार्तामा कम्पनीका प्रतिनिधि, आन्दोलनरत पक्ष र ऊर्जा मन्त्रालयका अधिकारीहरू सहभागी थिए।
विवादको कारण
गत भदौ २५ गते, जेनजी आन्दोलनका नाममा एक समूहले निःशुल्क १० प्रतिशत शेयर माग्दै धम्की दिएपछि आयोजना ठप्प भएको थियो। उत्पादन बन्द हुँदा कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी नोक्सानी बेहोर्नुपरेको थियो।
यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले आयोजनाको कार्य तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए। त्यसपछि प्रमुख जिल्ला अधिकारीले दुवै पक्षलाई बोलाएर वार्ता गरेर सहमति गराएका हुन्।
हाल सिन्धुपाल्चोकका अन्य १० जलविद्युत् आयोजनाहरूमा पनि जेनजी नामक समूहले निःशुल्क शेयरको माग राखेका छन्, तर तीबारे अहिलेसम्म टुंगो लागेको छैन।
आयोजनाको पृष्ठभूमि
भोटेकोशी जलविद्युत् आयोजना नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत प्रवर्द्धित ४५ मेगावाट क्षमताको आयोजना हो। सन् २००१ मा व्यावसायिक उत्पादन सुरु गरेको यस आयोजनामा अमेरिकी लगानी रहेको छ।
आयोजना निर्माणका समयमा स्थानीयलाई शेयर दिने कानूनी व्यवस्था नभएकाले उनीहरूले हिस्सा पाएका थिएनन्। त्यसपछि स्थानीय समुदायले ६ प्रतिशत शेयर माग गर्दै आन्दोलन गर्दै आएका थिए।
२०७१ सालमा गठन गरिएको सर्वदलीय अध्ययन समिति ले अहिलेसम्म आफ्नो प्रतिवेदन बुझाएको छैन।
