ओली र लेखकलाई हिरासतबाट रिहा गर्ने तयारी, सर्वोच्चको आदेशपछि प्रक्रिया अघि बढ्यो

२६ चैत्र २०८२, बिहीबार ०५:०७

नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई हाजिर जमानीमा रिहा गर्ने प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सर्वोच्च अदालतको निर्देशनपछि उनीहरूलाई छाड्ने निर्णय गरिएको हो।

प्रहरीका एसपी पवनकुमार भट्टराईका अनुसार सरकारी वकिल कार्यालय काठमाडौंको सहमतिसमेत प्राप्त भइसकेको छ। अब दुवैलाई नजिकका आफन्त वा जिम्मेवार व्यक्तिको जिम्मामा छाडिने तयारी गरिएको छ।

भदौ २३ को घटनासँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका ओली र लेखकलाई यसअघि पाँच दिनको म्याद थप गरिएको थियो। उक्त म्याद समाप्त भएसँगै थप हिरासतमा नराख्न अदालतले स्पष्ट निर्देशन दिएको छ।

यसअघि सर्वोच्च अदालत का न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले अनुसन्धानका लागि थप म्याद नथप्न आदेश जारी गरेको थियो। उनीहरूले बन्दी प्रत्यक्षीकरण रिट दायर गरे पनि अदालतले रिट खारेज गर्दै हिरासत अवधि लम्ब्याउन नपाइने स्पष्ट पारेको हो।

अदालतले अनुसन्धान अधुरो भए पनि कानुनी प्रक्रिया पूरा गर्दै हिरासतबाहिर राखेर अनुसन्धान जारी राख्न सकिने बताएको छ। यससँगै अब उनीहरूलाई हिरासत मुक्त गरी थप अनुसन्धान अघि बढाइनेछ।

उल्लेखनीय छ, मन्त्रिपरिषद्ले भदौ २३ र २४ मा भएका घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। उक्त घटनामा काठमाडौंको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएको थियो।

हाल स्वास्थ्य समस्याका कारण ओली अस्पतालमा रहेका छन् भने लेखकलाई प्रहरी हिरासतमा राखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *