रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय वृद्धि, नौ महिनामै १६ खर्ब ५९ अर्ब भित्रियो

२९ बैशाख २०८३, मंगलवार ०५:४०

नेपालमा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा रेमिट्यान्स आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि हुँदै १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर १०.२ प्रतिशत मात्रै रहेको थियो।

२०८२ साल चैत महिनामा मात्र नेपालमा २ सय ९ अर्ब ७५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम अघिल्लो वर्षको तुलनामा करिब १ सय ३९ अर्ब रुपैयाँले बढी हो। पछिल्ला महिनाहरूमा वैदेशिक आम्दानीको मुख्य स्रोतका रूपमा रहेको रेमिट्यान्सले देशको विदेशी मुद्रा सञ्चिति र अर्थतन्त्रलाई थप बलियो बनाएको विश्लेषण गरिएको छ।

यद्यपि वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा भने कमी आएको देखिएको छ। राष्ट्र बैंकको तथ्याङ्कअनुसार समीक्षा अवधिमा २ लाख ९४ हजार १८६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २ लाख ९३ हजार २५९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेको सङ्ख्या घटे पनि विदेशमा रहेका नेपालीले पठाउने रकम भने उल्लेखनीय रूपमा बढेको देखिएको छ।

अर्थविद्हरूका अनुसार औपचारिक बैंकिङ प्रणालीमार्फत पैसा पठाउने प्रवृत्ति बढ्नु, विभिन्न मुलुकमा नेपाली कामदारको आम्दानीमा सुधार आउनु तथा अमेरिकी डलर बलियो हुनुजस्ता कारणले रेमिट्यान्स आप्रवाह उच्च दरमा बढेको हुनसक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *