नेपाली बजारमा चिनिँया ब्राण्डको चमक

समचार BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं । प्रविधि विकासमा दुनियाँलाई चकित पारिरहेका चिनियाँ कम्पनीहरु आक्रामक तवरले विश्व बजारमा पुगेका छन्। नेपाली बजारमा पनि चिनियाँ ब्रान्डको चमक देखिन थालेको छ।

नेपालमा चलेका अमेरिकी, जापानी, कोरियन र भारतीय ब्रान्डसँगै चिनियाँ ब्रान्ड पनि बिस्तारै प्रतिष्पर्धाको बजारतिर लम्किरहेका छन्। चार वर्षयता चिनियाँ मोटर कम्पनीका पेट्रोल र डिजल इन्जिन, हाइब्रिड र विद्युतीय गाडीहरु नेपाली सडकमा बढ्न थालेका छन् । बीवाइडी, एमजी, डीएफएसके, ग्रेटवाल मोटर्स, चेरी, चाङगान लगायत आधा दर्जन चिनियाँ ब्रान्डका गाडी नेपाली बजारमा भित्रिएका छन्।

चिनियाँ ब्रान्ड अब पहिले पहिले जस्तो रहेन। प्रविधिमा धेरै परिवर्तन भइसक्यो। संसारका प्रमुख बजारहरुमा चिनियाँ कम्पनीले टक्कर दिइरहेका छन्। अटोमोबाइल, म्यानुफ्याक्चरिङमा अमेरिकापछि चीन अगाडि छ । संसारभर चलेका ब्रान्डका तुलनामा चिनियाँ कम्पनीका गाडीहरु कुनै पनि हिसाबले कमजोर नभएको प्रयोगकर्ताहरु बताउछन् ।

नेपालमा पनि जीवनशैली परिवर्तन भएसँगै चिनियाँ ब्रान्डका गाडीलाई हेर्ने दृष्टिकोण फेरिन थालेको छ । विश्वप्रसिद्ध मोटर कम्पनीहरु इभी उत्पादनमा आकर्षित भइरहेका बेला चिनियाँ कम्पनीहरुसँग सहकार्यको क्रम बढेको छ। चिनियाँ कम्पनीले इभीका लागि ब्याट्री र पाटपुर्जा दिइरहेका छन्। यस्तोमा चिनियाँ कम्पनी आफैंले पनि विकसित गरेका नयाँ मोडल बजारमा पठाइरहेका छन्।

दक्षिण एसियाली बजारमा पकड मजबुत बनाएका ब्रान्डमध्ये धेरैको चीनमा पनि सवारी उत्पादन प्लान्ट छ। भारतमा एसेम्बल र उत्पादन भइरहेका गाडीको तुलनामा चीनबाट नेपाल भित्रिएका ब्रान्ड संख्यामा निकै थोरै छ तर चलेका ब्रान्डको प्रतिष्पर्धामा खरो उत्रिने अभ्यास सुरु भइसकेको छ। चिनियाँ ब्रान्डले नेपालमा बजार हिस्सा बढाउँदै लगेमा अरु ब्रान्डहरुलाई पनि गुणस्तरमा प्रतिष्पर्धा गर्न चुनौती हुने देखिएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp