Banking Khabar
Heading3

सात हजारले दिए इजरायल रोजगारीका लागि भाषा परीक्षा, नतिजा पाँच दिनभित्रै

September 14, 2021
सेयर:

काठमाडौं– केयरगिभरका रूपमा रोजगारीका लागि इजरायल जान चाहने श्रमिक छनोटका लागि सोमबार भाषा परीक्षा सम्पन्न भएको छ। सरकारी तहबाट इजरायलमा रोजगारीका लागि जाने श्रमिक छनोटका लागि भएको परीक्षामा सात हजार सात जना सहभागी भएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।

विभागका अनुसार रोजगारीका लागि आवेदन दिएका नौ हजार ६९९ मध्ये भाषा परीक्षामा सात हजार सात जना सहभागी भए।

सहभागीमध्ये तीन हजार ७२७ पुरुष र तीन हजार २८२ जना महिला रहेको विभागले जनाएको छ। परीक्षाफल छिटोमा दुुई दिन र बढीमा चार दिनभित्रै सार्वजनिक हुने विभागका निर्देशक एवं प्रवक्ता कमल ज्ञवालीले बताए। उत्तरपुस्तिकाको परीक्षण कम्प्युटर प्रणालीबाट गरिने जनाइएको छ।

निर्देशक ज्ञवालीका अनुसार उत्तीर्ण भएका परीक्षार्थीले ल्याएको अंकका आधारमा १६ सय ८० जना छनोट गरिनेछ। जसमा इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार ७० प्रतिशत महिला र ३० प्रतिशत पुुरुष हुनेछन् । विभागले भाषा, लिखित परीक्षा र शारीरिक परीक्षणपछि विभागले १४ सय जनालाई छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउनेछ।

विभागले पठाएको नामावलीका आधारमा दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रमिक छनोट गरेर भिसाको प्रक्रिया सुरु गर्नेछ।

विभागका अनुसार इजरायलमा रोजगारीका लागि छनोट भएर गएका श्रमिकको मासिक तलब नेपाली विनिमयअनुसार करिब दुुई लाख रुपियाँ हुनेछ। सो तलब सातामा ४२ घण्टाको हिसाबमा हुन्छ ।