Banking Khabar
Heading3

एचआईडीसीएलको साढे तीन करोड कित्ता सेयर आजदेखि लिलामीमा

September 23, 2021
सेयर:

काठमाडौं– हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले लिलाम बढाबढमार्फत साढे ३ करोड कित्ताभन्दा बढी सेयर बिक्री गर्ने भएको छ।

सो सेयरमा आज (असोज ७ गते) देखि १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ। कम्पनीको सेयर खरिदका लागि इच्छुक व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने जनाइएको छ।

कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाममार्फत बिक्री गर्न लागेको हो।

कम्पनीले संस्थापक समूहको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६४ लाख २९ हजार ७२४ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो।

लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। संस्थापक समूहको सेयरमा लगानीकर्ताले न्यूनतम १ करोड कित्ताका लागि आवेदन दिनुपर्नेछ भने सर्वसाधारण तर्फको सेयरमा न्यूनतम १ सय कित्ता सेयरका लागि आवेदन दिनुपर्ने कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।