Banking Khabar
Heading3

जगदम्बा अटो ग्रुपलाई जरिवाना

September 28, 2021
सेयर:

पर्सा – कम राजस्व तिरेको पुष्टि भएपछि जगदम्बा अटो ग्रुप प्राइभेट लिमिटेडलाई वीरगञ्ज भन्सार कार्यालयले कारबाहीस्वरूप जरिवाना गरेको छ।

काठमाडौँ सुविधानगरस्थित जगदम्बा अटो ग्रुप प्राइभेट लिमिटेडले भारतबाट तीन चक्के टेम्पोका सामान आयातमा कम राजस्व तिरेको पुष्टि भएपछि थप १३ लाख ८० हजार रुपैयाँ जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए।

भारतको चेन्नईस्थित टिभिएस कम्पनीबाट जगदम्बाले आयात गर्ने गरेको तीन चक्के टेम्पोको पार्ट्स भनेर एकीकृत जाँच चौकी वीरगञ्जबाट भन्सार जाँच पास गराई चेसिस र इञ्जिनसहितको टेम्पोका विविध सामग्री एक साताअघि आयात गर्न लागेको थियो। छड्के जाँचका क्रममा अनुसन्धानको दायरामा आएको उक्त सामग्रीबारे थप अनुसन्धान गरी कम्पनीले माग गरेबमोजिमको छुट रकम पाइने नदेखिएकाले उक्त सामग्री पूर्णरूपमा खोलखाल नभएको देखिएकाले कारबाहीस्वरूप छुट रकम लिएर जरिवाना गरिएको प्रमुख भन्सार प्रशासक विश्वप्रसाद अर्यालले जानकारी दिए।

भारतबाट सवारी साधनको इञ्जिन, चेसिससहितको सवारी साधान आयात गर्दा ३० प्रतिशत भन्सार, ५५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लाग्ने गरेको अवस्थामा पार्ट्स भनेर आयात गर्दा अन्तःशुल्कमा ५० प्रतिशत नेपाल सरकारले छुट दिने प्रावधानअनुसार कम्पनीले उक्त छुट लिन खोजेको थियो।

यद्यपि यसबारे पुनः छड्के परीक्षण गरी अनुसन्धानपछि उक्त सामग्री पूर्णरूपमा खोलखाल नगरेको पाइएकाले नियमानुसार छुट असुलस्वरूप १३ लाख ८० हजार रुपैयाँ थप रकम लिइएको कार्यालयले जनाएको छ। भारतबाट पार्ट्स आयात गर्नका लागि नेपालस्थित उद्योग दर्ता हुनुपर्नेमा जगदम्बा अटो ग्रुप बाराको सिमरास्थित आफ्नो शाखा स्थापना गरी उद्योग दर्ता गराएको छ।

उद्योगले भारतबाट गाडीको सम्पूर्ण पार्ट्स अलगअलग आयात गरी यहाँ एसेम्बलिङ (तयारी) गर्नुपर्नेमा बाहिरी भागका केही सामान खोलेर पार्ट्स मात्रै आयात गर्ने गरेको भनेर भन्सार जाँचपास गराई इञ्जिन, चेसिससहितको टेम्पो आयात गर्ने गरेको थियो। सवारी साधनको पार्ट्स आयात गर्दा सि.के.डि. भनेर भन्सार जाँच पास हुने गरेको थियो। एक साताअघि जगदम्बा गुप्रले सि.के.डि. भनेर ३४ लाख ५७ हजार १४१ रुपैयाँ बराबरको सवारी साधनको पार्ट्स भनेर भन्सार जाँच पास गराई ३० लाख १५ हजार ९९६ रुपैयाँ राजस्व बुझाएको भए पनि कार्यालयले गरेको निर्णयानुसार कारबाहीस्वरूप जरिवानावापत थप १३ लाख ८० हजार रुपैयाँ जगदम्बाले  बुझाएको कार्यालयले जनाएको छ।