अमेरीकी स्टक एक्सचेन्ज नास्डाकमा नेपालीको कम्पनीले पनि कारोबार गर्ने
वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली उद्यमी डा. समिर मास्केले स्थापना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी फ्युजमेसिन्स अमेरिकाको यूएस स्टक एक्सचेन्ज नास्डाकमा
सूचीकृत हुने भएको छ ।
यसका लागि फ्युजमेसिन्स र नास्डाकमा सूचीकृत कम्पनी सीएसएलएम एक्विजिसन कोर्पबीच हालै मर्जर सम्झौता भएको छ ।
यो सम्झौता कम्पनीको लागि महत्त्वपूर्ण कोसेढुङ्गा भएको मास्केले बताएका छन् । यसबाट कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा ठूलो फड्को मार्ने उनको विश्वास छ ।
मर्जर सम्झौतापछि कम्पनी ‘फ्युज’ नामबाट नास्डाकमा सूचीकृत हुनेछ । यो प्रक्रिया सन् २०२४ को दोस्रो त्रैमाससम्म पूरा हुनेछ । मर्जरपछि कम्पनी दुई सय मिलियन डलर बराबरको हुने अपेक्षा गरिएको छ ।
कोलम्बिया युनिभर्सिटीका सहायक प्रोफेसरसमेत रहेक डा. मास्केले सन् २०१३ मा फ्युजमेसिन्स स्थापना गरेको हुन् । कम्पनीको मुख्य कार्यालय हाल न्यूयोर्कमा छ । यसले एशिया, क्यानडा, संयुक्त राज्य अमेरिका र ल्याटिन अमेरिकामा रहेर एआईका क्षेत्रमा काम गरिरहेको छ ।