Banking Khabar
Heading3

कक्षा १२ को परीक्षा भौतिक रुपमा छिटोभन्दा छिटो गर्न संसदीय समितिको निर्देशन

August 24, 2021
सेयर:

८ भदौ, काठमाडौं । संसदीय समितिले कक्षा १२ को परीक्षा भौतिक रुपमा नै छिटोभन्दा छिटो सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले अनलाइनबाट पढाएको वापतको मात्र शुल्क लिएर इन्जिनियरिङ कलेजका विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।

बैठकमा समितिका सदस्यहरुले कोभिडविरुद्धको खोपका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरेर छिटो परीक्षा संचालन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले समितिले दिएको निर्देशन अनुसार कक्षा १२ को परीक्षाको आवश्यक व्यवस्था मिलाउन ढिलाई नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भौतिक रुपमा कक्षा नभएकाले इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले अनलानमा पढेको शुल्क मात्रै तिरेर परीक्षा लिने व्यवस्था मिलाउन सरोकारवाला निकायसँग छलफल गर्ने समितिलाई जानकारी गराए ।

इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले अनलाईन फि मात्रै तिरेर आफूहरुले परीक्षा दिन पाउने व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन ।