Banking Khabar
बैंकिङ

एनआईसी एशिया बैंकद्वारा २० लाख बीमा रकम भुक्तानी

August 25, 2021
सेयर:

९ भदौ, काठमाडौं । एन.आई.सी. एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत २ जना खाता वालालाई जनही १०–१० लाख गरी कुल २० लाख बीमा रकम भुक्तानी गरेको छ ।

जसअनुसार यस बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५, बसुन्धारा निवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरिएको छ । निजकी पत्नी रुकमती श्रेष्ठलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

साथै, यस बैंकको कञ्चनपुर जिल्लास्थित पुनर्वास शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘प्राइम श्रेणी’को खाता खोलेका कञ्चनपुर पुनर्वास–६का रमेश अर्यालको दुर्घटना पश्चात् मृत्यु भएकोमा उनकी पत्नी विनिता सुवेदीलाई दुर्घटना बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरिएकोे बैंकले जनाएको छ । निजलाई यस बैंकको पुनर्वास शाखा प्रमुख एमपौस चौधरीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

यस बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ५५० जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको ३ करोड ५८ लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।