पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने तयारीमा नेपाल आयल निगम

२२ भाद्र २०७८, मंगलवार ०८:५९

काठमाडौँ – अब भने नेपाल आयल निगमले भारतको मोतिहारीबाट पाइपलाइनको माध्यमबाट पेट्रोल र मट्टितेल  ल्याउने कार्यको थालनी गरेको छ ।

अबको केही समयभित्रमै भारतको मोतिहारीबाट ल्याएको पेट्रोलियम पाइप लाइनबाट पेट्रोल र मट्टितेलसमेत ल्याइने छ । पाइप लाइनबाट पेट्रोल र मट्टितेल ल्याउँदा राज्यलाई ढुवानी भाडा बापतको ९ करोड रुपैयाँ मासिक फाइदा हुने निगमको २ नम्बर प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीपकुमार यादवले बताउँछन् ।

‘पाइपलाइनबाट ल्याउँदा प्राविधिक नोक्सानी अन्तर्गतको हुने मासिक २ करोड नोक्सानी समेत नेपाल आयल निगमको कम हुन्छ,’ उनले भने । सबै कुरा गरेर निगमको मासिक ११ करोड रुपैयाँ बचत हुने यादवको भनाइ रहेको छ ।

एउटा ट्याङ्कर भारतको बरुनी डिपोमा गएर पेट्रोलियम पदार्थ ल्याउँदा ४५ हजार गाडी भाडा लाग्ने गरेको छ । मासिक २ हजार ट्याङ्कर २ सय ५० किलोमिटरको दुरी पार गरेर भारत जाने गरेका छन् । यसका लागि करिब २ सय लिटर डिजेल समेत लाग्ने गरेको कार्यालय प्रमुख यादवले बताए । उनीहरूले त्यहाँ भारतको राज्य कर, टोल ट्याक्स खाना खर्चलगायतमा न्यूनतम ५ हजार खर्च गर्दछन् ।

भारतको मोतिहारीबाट नेपालको बारा जिल्ला अमलेखगञ्जमा रहेको २ नम्बर प्रादेशिक कार्यालयसम्म ६९ किलोमिटर पाइपलाइन भारतीय आयल कर्पोरेसनको सहयोगमा निर्माण भएको हो ।

त्यसको भण्डारणको लागि चाहिने ट्याङ्की अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्न करिब ३५ देखि ४० करोड लाग्ने उनको भनाइ छ । मासिक पेट्रोल ल्याउन लाग्ने भाडा नौ करोड र प्राविधिक नोक्सानी २ करोड गरी ११ करोडको हिसाब गर्दा चार महिनाको ढुवानी भाडाले एउटा ५ हजार केएलको भण्डारण गृह बनाउन सकिने निगमले जानकारी दिएको छ ।

नेपालभरबाट दैनिक करिब ३ सय ट्याङ्कर पेट्रोलियम पदार्थ लिन भारत जाने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *