सुदूरपश्चिममा एमालेका दुई मन्त्रीले दिए राजीनामा
२२ भाद्र २०७८, मंगलवार १२:४०
२२ भदौँ, काठमाडौं । नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।
एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका हुन् ।
विगतमा माधव नेपाल समूहमा रहेका शाह र गहतराजले पार्टी विभाजनपछि एमालेमै रहेका छन् । बाजुराबाट निर्वाचित शाह ५ फागुन २०७४ मा तत्कालीन नेकपा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए ।