लकडाउन अवधिको घरभाडा करबाटै चुक्ता हुने व्यवस्था गर्न मोबाइल व्यवसायीको माग

२३ भाद्र २०७८, बुधबार ०८:२२

काठमाडौँ – काेराेना संकटको मारमा परेमा मोबाइल व्यवसायीहरुले लकडाउन अवधिको घर भाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।​

माेबाइल व्यवसायीहरुले बुधबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी लकडाउन अवधिभरको घर भाडा करबाटै चुक्ता हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष भरत भट्टराईले  लकडाउन अवधिको घर भाडा वापतको रकम आयकरबाट समायोजन हुने व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो । उहाँले सरकारले अन्य उद्योगलाई सहुलियत ब्याजदरमा ऋण प्रवाहको व्यवस्था गरे पनि आफूहरुलाई नगरेको भन्दै असन्तुष्टि समेत गर्नु भयो ।

महासंघले राज्यको करछली गरि भित्रिएका मोबाइलहरुलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन गर्न आफूहरु पनि लागिपर्ने प्रतिवद्धता समेत जनाएको छ ।

‘कोरोनाको यस्तो जटिल अवस्थामा राज्यले बन्द गराएको अवधिको घर भाडावापतको रकमलाई आयकरमा समायोजन गरिदिए मात्रै पनि व्यवसायीले ठूलो राहतको महसुस गर्नेछन । यतातर्फ राज्यको ध्यान जाओस् भन्ने जोडदार माग गर्दछु’ महासंघका अध्यक्ष भट्टराईले भन्नुभयो, ‘साथै राज्यको कर छलेर अनधिकृत रुपमा भित्रिएका मोबाइललाई करको दायरामा ल्याउने सरकारको नीतिको पूर्ण पालनाको अपेक्षा गरेको छु । कर नतिरी नेपाल छिरेका त्यस्ता मोबाइलका कारण एक त राजश्व गुमेको छ भने अर्कोतर्फ अस्वभाविक प्रतिस्पर्धा सिर्जना भएको छ ।’

महासंघको तथ्यांक अनुसार गएकाे आर्थिक वर्षमा मात्रै मोबाइल व्यवसायीहरुले ३ अर्ब ५२ करोड रुपैयाँ राजस्व राज्यलाई बुझाएका छन् । महासंघका अध्यक्ष भट्टराईले आर्थिक वर्ष ०७५/७६ को तथ्यांकलाई मात्रै हेर्ने हो भने वार्षिक ४२ लाख ७५ हजार सेट मोबाइल नेपाल भित्रिएको र त्यसको विक्री गरी ३ अर्ब ५२ करोड कर राज्यलाई बुझाइएको पनि जानकारी दिनु भयो ।

ठूलो मात्रामा कर तिर्ने मोबाइल व्यवसायलाई भने कोरोनाकालमा राज्यले कुनै पनि खालको सहुलियत नदिएकोमा मोबाइल व्यवसायीहरुको गुनासो छ । उनीहरुले मोबाइल व्यवसायको पुनर्जीवनका लागि पनि ऋण प्रवाहमा अन्य व्यवसायलाई जस्तै सहुलियत दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *