काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशीघ्र भेहीकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन्।
भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेहीकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन्। भेहीकल स्क्यानर जडान भएपछि भन्सार विन्दुमा आउजाउ गर्ने सवारीसाधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन। उनले मालवस्तुको वर्गीकरण र मूल्याङ्कनमा इमान्दारिता कायम गरी राजस्व संकलन बढाउन कर्मचारीहरुलाई आग्रह गरे।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनलाई तीन ‘स’को अवधारणामा काम गर्न आग्रह गरे। सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा जोड दिए। उनले सरुवाका लागि कुनै पनि दल, नेता वा संगठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिए।
राजस्वसचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिए। उनले सेवाग्राहीका गुनासाहरुलाई तत्काल सम्बोधन गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत् स्वदेशी उद्योगहरुको संरक्षण र प्रोत्साहन गर्नेगरी नीति आएकोमा सरकारलाई धन्यवाद दिए। उनले करको दर हेरफेरमा निजी क्षेत्रको सुझाव समेटिएको भन्दै खुसी व्यक्त गरे। स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नको लागि कच्चा पदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनुपर्नेमा उनले जोड दिए।