सरुवा–बढुवाका लागि ‘सोर्स फोर्स’ लगाउने काम बन्द गर्न अर्थ सचिव मरासिनीको आग्रह

२७ भाद्र २०७८, आईतवार ०९:३९

काठमाडौँ – अर्थ सचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनलाई तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गर्नुभएको छ । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई आज आइतवार सम्बोधन गर्दै अर्थ सचिव मरासिनीले सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात् गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरुवा वा बढुवाका लागि कुनै पनि  दल, नेता वा सङ्गठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभयो । सरुवाका लागि फोन गराइ दबाब सिर्जना गर्ने कर्मचारीहरूको माग सुनुवाइ नहुने अर्थ सचिव मरासिनीले स्पष्ट पार्नुभयो । ‘त्यसरी फोनमा सोर्स फोर्स लगाउने कर्मचारीले आफ्नो इन्टिग्रेटीमा कम्प्रोमाइज गरिसकेको हुन्छ, इन्टिग्रेटी गुमाइसकेका कर्मचारीले कस्तो काम गर्छन्, त्यो आफैँ बुझ्नुहुन्छ’, उहाँले भन्नुभयाे ।

राजश्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमानदारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले सेवाग्राहीका गुनासालाई तत्काल सम्बोधन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरूको संरक्षण र प्रोत्साहन गर्ने गरी नीति आएकोमा सरकारलाई धन्यवाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *