Banking Khabar
समचार

हावाहुरीसहित परेको पानीले गोलभेँडा खेतीमा क्षति

September 15, 2021
सेयर:

दाङ- हावाहुरीसहित मङ्‍गलबार दिउँसो परेको पानीले तुलसीपुर उपमहानगरपालिका-३ भट्टे कृषि सहकारी संस्थाको गोलभेँडा खेतीमा क्षति गरेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रको २५ लाख रुपैयाँ र संस्थाको २५ लाख गरी कूल ५० लाख रुपैयाँको लागतमा गरिएको गोलभेँडा खेती हावाहुरीसहितको पानीले नष्ट गरेको संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिए। तरकारी खेतीका लागि पटेक क्षेत्रमा चिनिने भट्टेगाउँको दुई बिघा बढी जमिनमा टनेलमा गोलभेँडा खेती गरिएको थियो।

हावाहुरीले १४० टनेलमा गरिएको गोलभेँडा खेतीलाई पूर्णरूपमा क्षति पुर्‍याएको संस्थाका अध्यक्ष वलीले जानकारी दिए। पाक्न लागेका गोलभेँडा दसैंअगावै बिक्रीका लागि किसानले तयारी गरिरहेका थिए।

एक्कासी हावाहुरी तथा पानी नष्ट गरेपछि किसान चिन्तित छन्। सहकारीमा आबद्ध भएर उक्त गाउँका १०० भन्दा बढी किसानले तरकारी खेती, बाख्रापालन, भैँसीपालन गर्दै आएका छन्।