अध्यागमन विभागले दिन थाल्यो अनअराइभल भिसा

काठमाडौं– अध्यागमन विभागले बिहीबारदेखि पर्यटक अनअराइभल भिसा दिन सुरु गरेको छ। विभाग अन्तर्गतका नौ वटा प्रवेश तथा प्रस्थान बिन्दु (अध्यागमन कार्यालय)बाट पर्यटकलाई आगमन पश्चात दिने अनअराइभल भिसा दिन सुरु गरिएको प्रवक्ता झंकनाथ ढकालले जानकारी दिए।
यस अघिसम्म विभागले नेपाल प्रवेश गर्ने विदेशी नागरिकले सम्बन्धित देशबाट भिसा लगाएपछि मात्र स्वास्थ्य मापदण्ड पूरा गरी प्रवेश दिँदै आएको थियो। नेपालीमूलका विदेशी नागरिक र बिरामी, बालबालिकालगायतलाई प्रवेश गर्दा पूर्ण डोज खोप लगाएको हुनुपर्ने प्रवेश गर्दा पिसिआर जाँच गरी कोरोना नेगेटिभ भएपछि १० दिनको क्वारेन्टिन बस्ने गरी प्रवेश दिने गरेको थिए।
भिसाका लागि विभागको वेबसाइटबाट अनलाइन फारम (पर्यटक भिसा) भर्नुपर्ने जनाएको छ। एक पटक भरेको फारमले १५ दिनसम्म मात्र काम गर्ने र भिसाका लागि तोकिएको दस्तुर बैंकमा बुझाउन सकिने जनाएको छ।