Banking Khabar
Heading3

यस्ता छन् विदेश जाने नेपालीको हकमा सरकारले तोकेका नयाँ मापदण्ड

September 30, 2021
सेयर:

काठमाडौं– सरकारले अध्यागमन कार्यविधि संशोधन गर्दै विदेश जाने नेपाली नागरिकको खर्च व्यवस्थापनको हकमा नयाँ मापदण्ड तोकेको छ।

गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट अध्यागमन कार्यविधि २०६५ को दफा ३.१ को उपदफा (२) को खण्ड (घ) मा रहेको  ‘खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम ५०० अमेरिकी डलर वा सो बराबरको बिदेशी मुद्रा सटही गरेको प्रमाण’को व्यवस्थालाई परिवर्तन गरिएको हो।

परिवर्तित व्यवस्थाअनुसार  यूरोप, अमेरिका, जापान, कोरिया प्रस्थान गर्नेको हकमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम ५०० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण हुनुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया, थाइल्याण्डको हकमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम २५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण हुनुपर्ने व्यवस्था गरिएको छ।

माथि उल्लेख गरिएका बाहेक (अन्य) मुलुकको हकमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम ५०० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण हुनुपर्ने व्यवस्था गरिएको छ।

अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ को उपदफा (२) को खण्ड (घ) पछि देहाय बमोजिम खण्ड (घ१) थप्ने समेत निर्णय भएको छ।

खण्ड (घ१) मा ‘दफा ३.१ को उपदफा (२) को खण्ड (घ) बमोजिमको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त ‘क वर्गको बैंकबाट सटही गर्ने र सटही गर्दा व्यक्ति स्वयं उपस्थित भइ अनिवार्य आयस्रोत खुलाउने।’ व्यवस्था थप गरिएको छ।