सर्लाही– सर्लाहीको नवलपुरमा जारी सब–स्टेसन निर्माणको कार्य अन्तिम चरणमा पुगेकोे छ। लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२÷३३ केभीए प्रसारण लाइनका लागि सबस्टेशनको निर्माण जारी छ।
सबस्टेसन निर्माण सम्पन्न भएपछि हरिपुर, मलंगवाका सबस्टेसनमा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युतसम्बन्धी समस्या समाधान हुने प्रमुख साहले जानकारी दिए। जिल्लामा रहेका तीन सबस्टेसन ३३÷११ केभिएका मात्र रहेका कारण विद्युत्सम्बन्धी समस्या आएको थियो । अब यो सबस्टेसन बनेपछि त्यो समस्या समाधान हुने विश्वास लिइएको छ।
अहिले जिल्लामा रहेका तीनवटा सबस्टेसनले धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सबस्टेसनबाट विद्युत् ल्याउनु परिरहेको छ । अब नवलपुरको सबस्टेसन निर्माण सम्पन्न भएपछि लालबन्दी र हरिवनका लागि नवलपुरबाट सिधै र हरिपुर र मलङ्गवाका सबस्टेसनबाट सेवा सञ्चालन हुनेछ। बाहिरबाट ल्याएको विद्युत्ले जिल्लाको आपूर्ति थाम्न नसकेको कार्यालय प्रमुख साहले बताए।
आव २०७८/७९ भित्र निर्माण सम्पन्न गर्ने गरी पावाटेक वाइवा (जेभी) निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको थियो। जिल्लामा केन्द्रीय प्रसारण लाइनको पहुँच पुर्याउनका लागि सबस्टेसन निर्माणको काम गरिएको र अबको करिब एक महिनमा निर्माण सम्पन्न हुने निर्माण कम्पनीका प्रतिनिधि एचपी लामाले बताए।
जिल्लामा उद्योगधन्दा तथा कलकारखानाहरु दिन प्रतिदिन खुल्ने क्रम बढेपछि विद्युत् क्षमता विस्तारको अवस्थालाई दृष्टिगत गर्दै जिल्लामा विशेष क्षमताको सबस्टेसन निर्माणको काम भइरहेकोे विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले जनाएको छ।