अब ९८ प्रकारका औषधि निःशुल्क पाइने, सरकारी कम्पनीले थाल्यो थप दश औषधि उत्पादन

Heading2 BusinessSarokar | २७ मंसिर २०८२, शुक्रबार

सरकारले विगतका दिनमा नेपाली जनतालाई विभिन्न सरकारी स्वास्थ्य संस्था मार्फत निशुल्क वितरण गर्दै आएको ७१ वटा औषधिको संख्या अब ९८ पुग्ने भएको छ । सरकारको थप निशुल्क औषधि वितरण कार्यक्रम अन्तर्गत थप औषधिले नेपालीको स्वास्थ्यमा केहि हदसम्म स्वास्थ्य पहुँचमा राहत मिल्ने देखिन्छ ।

सरकारको निशुल्क वितरण गरिने औषधिमा थप भएसँगै सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधी लिमिटेड प्रतिको जिम्मेवारी पनि थपिएको नेपाल औषधि लिमिटेडका प्रबन्ध निर्देशक मोहम्मद सफिउल्लाह बताउँछन् ।

उनी भन्छन्, ‘सरकार र नेपाली जनता प्रतिको जिम्मेवारी र स्वास्थ्य सेवामा सहज पहुँचको उदेश्य राखी २०२९ सालमा स्थापना भएको नेपाल औषधी लिमिटेड बिगतमा १४६ वटा औषधी उत्पादन गरेको भएपनि, बिचमा १० वर्षसम्म उत्पादन नै बन्द रहेको लिमिटेडले सरकारको निर्णय संगसगै आफ्नो उत्पादनमा वृद्धि गर्ने लक्ष्य पनि अगाडी सारेको छ ।’

कोभिडले सृजना गरेको प्यारासिटामोल हाहाकार पूर्तिमा महत्वपूर्ण भूमिका खेल्दै आएको लिमिटेडले अहिलेसम्म सिटामोल, जीवनजल, स्यानीट़ाईजर, ग्लिसिरिन र डिस्टिल वाटर उत्पादनमा मात्र सिमित रहेको थियो ।

लामो समयदेखि औषधि व्यवस्था विभागसंग पुनः उत्पादन अनुमति मागिरहेको लिमिटेडले अन्ततः थप १० वटा औषधि उत्पादनको प्रमाणपत्र पाएसँगै उत्पादन प्रक्रिया अघि बढाएको नेपाल औषधि लिमिटेडका उत्पादन तथा गुणस्तर प्रमुख हिना श्रेष्ठले जानकारी दिइन ।

उनले भनिन्, ‘हामीले थप १० वटा औषधिहरु उत्पादन गर्न लागेका छौ, ती औषधिहरु पनि सरकारले निःशुल्क रुपमा वितरण गर्ने औषधि नै हुन् । यसका लागि खरिद प्रक्रिया पनि अघि बढेको छ । मेसिन व्यवस्थापन गरेर अघि उत्पादनलाई अघि बढाउने छौ ।’

कुनै पनि देश, स्वाथ्य तथा खाद्य सामग्रीमा एक हदसम्म आत्मनिर्भर हुनुपर्ने मान्यता राखेका नेपाल औषधी लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाह, सरकारले निशुल्क वितरण औषधिको संग्ख्यामा वृद्धिसंगै लिमिटेडमाथि देश र जनता प्रतिको औषधि पूर्ति गर्ने जिम्मेवारी पनि थपिएको बताउँछन् ।

यस्तै, सरकारको यो निर्णयमा सहयोगी भूमिका खेल्न, लिमिटेडले आफ्नो उत्पादन गति र योजनालाई तीव्रता दिई अन्तरिक व्यवस्थापन सुधारमा सम्पूर्ण विभाग लागिपरेको खरिद प्रमुख तथा लिमिटेडका प्रवक्ता टिकाराम अर्यालले बताए ।

वर्षौं बन्द रहेका लिमिटेडलाई कोभिड महामारीको बेलामा सिटामोल, जीवनजल र स्यानीट़ाईजर उत्पादन तथा वितरणमा व्यस्त रहेको देखिन्छ । दुई दशकभन्दा बढी समय देश तथा विदेशका विभिन्न फर्मास्युटिकलको महत्वपुर्ण पदीय जिम्मेदारी सम्हालेका फर्मास्युटिकल विषयका विज्ञ तथा लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले जटिल खरिद प्रक्रिया तथा आर्थिक स्रोत अभावका कारण पटक पटक समस्या आउनुका साथै औषधि उत्पादन र वितरणमा बाधा हुने गरेको बताए ।

यससँगै थप नयाँ औषधि उत्पादनमा नेपाल औषधि लिमिटेडले प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि औषधि उत्पादनमा अनुमति मागिरहेको लिमिटेडले अन्ततः थप १० वटा औषधि उत्पादनको प्रमाणपत्र पाएसँगै उप्पादन पक्रिया अघि बढाएको नेपाल औषधि लिमिटेडका प्रबन्ध निर्देशक मोहम्मद सफिउल्लाहले जानकारी दिए ।

उनका अनुसार सरकारले खाद्य र औषधिमा निश्चित सिमासम्म माग अनुसार पुर्ति गर्नुपर्ने हुन्छ । तर त्यो माग अनुसारको आपूर्ति कमि रहेको उनले बताए । उनी भन्छन्, ‘सरकारले खाद्य र औषधिमा निश्चित सिमासम्म माग अनुसार पुर्ति गर्नुपर्ने हुन्छ । आफू एक स्वास्थ्य विज्ञ र फर्मास्युटिकल्स मै मार्केटिङ गरेको हुनाले त्यो महसुस गरे । तर माग अनुसार पुर्ति हुन सकेको छैन ।’

सरकारको जनतालाई निःशुल्क रुपमा बाड्नु पर्ने ७० वटा औषधि बनाएर सरकारलाई दिने संस्थाको उद्देश्यले रहेको उनले सुनाए । निर्देशक सफिउल्लाह भन्छन्, ‘हामी अरुको देशको लागि काम गर्छौ । तर आफ्नै देशको अवस्था यस्तो भएका कारण केही गर्नुपर्छ भन्ने लाग्यो र आइयो । मेरो उद्देश्य नै यो संस्थालाई चलाउने भन्ने थियो ।’

उनका अनुसार यो संस्था नीति, नियम र कानुनी रुपमा पनि दयनीय अवस्थामा रहको थियो । १० वर्षदेखि बन्द रहेको संस्थाको अवस्था राम्रो थिएन । तीन महिनाको बिचमा विभिन्न व्यवस्थापनका कामहरुलाई अघि बढाएर उत्पादनको कामलाई निरन्तरता दिन लागेको उनले सुनाए ।

उनले भने, ‘सरकारले निर्णय गरेका तर संस्थाले कार्यान्वयनमा नल्याएका कामहरु पनि धेरै थिए । संस्थामा आवद्ध भएका २६० जना कर्मचारीहरु वर्षेनी जाँदा कति डिपार्टमेन्ट नै खाली भएका थिए । उत्पादनको क्षेत्र ठिक भएपनि फर्मासिस्ट भने छैनन् । व्यवस्थापनका लागि पहल गरिहेको छु ।’

औषधिको बजारका लागि पनि मार्केटिङ डिपार्टमेन्ट पनि खाली रहेको उनले बताए । सफिउल्लाहले भने, ‘औषधि लिमिटेडमा धेरै समस्याहरु पनि छन् । तर जबसम्म प्रणालीमा सुधार गर्न सकिदैन तबसम्म लक्ष्य पुरा हुँदैन । हाम्रो लक्ष्य संस्थालाई अघि बढाउने नै हो ।’

उनका अनुसार कोभिडको महामारी बढेपछि बाध्य भएर नेपाल औषधि लिमिेटडले सिटामोलको उत्पादन गर्नु पर्यो । नीजि क्षेत्रले घाटाको व्यापार नगर्ने भनेपछि सरकारी संस्था भएका कारण औषधि उत्पादनका लागि परेकाे उनले बताए । उनले भने, ‘सिटामोलको उत्पादन ले सधै घाटा नै व्यहोर्नु परेको छ । कोभिडको महामारी बढेपछि बाध्य भएर संस्थाले सिटामोलको उत्पादन गर्नु पर्यो । नीजि क्षेत्रले घाटाको व्यापार नगर्ने भनेपछि सरकारी संस्था भएका कारण औषधि उत्पादनका लागि लागि पर्यौ ।’

‘सुरुवाती चरणमा राम्रो सुविधा पनि दिएका थियौ । अहिले पनि निरन्तर रुपमा सिटामोलको उत्पादन गरिरहेका छौ । सरकारसँग खाद्य र औषधिमा दिर्घकालिन रुपमा केही समय धान्न सक्ने क्षमता हुनुपर्छ’, उनले भने ।

उनी भन्छन्, ‘धेरै नभएपनि छ महिनासम्म धान्न सक्ने हुनुपर्छ । अहिले सरकारी औषधिहरु ९० वटा पुगेको छ । पहिले १७६ वटा निःशुल्क रुपमा बाड्ने औषधिहरु उत्पादनहरु रहेका थिए ।’

सरकारले निःशुल्क रुपमा वितरण गर्ने औषधिहरु सर्वसुलभ रुपमा जनताले पाउनु पर्ने उनको भनाई छ । साथै सरकार बाहेक अन्य कम्पनीहरुले किन्न आएपनि उचित मुल्यमा गुणस्तरिय उत्पादन जनतालाई दिनु पर्ने उद्देश्य रहेको उनले बताए ।

उनी भन्छन्, ‘ हाम्रो उद्देश्य सरकारले निःशुल्क रुपमा वितरण गर्ने औषधिहरु सर्वसुलभ रुपमा जनताले पाउनुपर्छ भन्ने हो । तर ती उद्देश्यहरु पूर्ति गर्नका लागि परिमाण कम मात्रामा छ । वर्षमा ३ लाख रुपैयाँसम्म खपत हुन्छ । त्यस्ता औषधि उत्पादन गर्न नीजि क्षेत्रले लगानी गर्दैन ।’

उनका अनुसार औषधि उत्पादनमा हाइ टेक्नोलोजी मेसिन र सुविधाहरु चाहिन्छ । तर ती उत्पादनहरुबाट थोरै मात्र आम्दानी हुने हुँदा नीजि क्षेत्रहरुले लगानी गर्दैनन् । सरकारले यस्ता सुविधाहरुको व्यवस्था गरेर उत्पादन बढाउनु पर्ने देखिन्छ, उनले भने ।

सबै औषधिहरु यही बनाउन सक्ने अवस्था भने नभएको उनले सुनाए । उनी भन्छन्, ‘आज भन्दा ५० वर्ष अघि यो संस्थाको वरिपरि खाली थियो । तर अहिले बस्तीको बिचमा औषधिको उत्पादनलाई प्राविधिक रुपमा सजिलै लान सक्ने अवस्था छैन । औषधि उत्पादन गर्दा वातावरणीय असर पर्ने पनि देखिन्छ ।’

यो संस्थालाई मुर्त रुप दिई यहाँको उत्पादनलाई अन्त लाने योजना रहेको उनले सुनाए । उनले भने, ‘यो योजनाको खाका तयार भएको छ । सरकारसँग पनि पहल गरेका छौ । औषधि लिमिटेडसँग आवद्ध रहेका विभिन्न निकायहरुलाई पनि जानकारी गराएका छौ ।’

औषधिको आपूर्तिलाई जसरी भएपनि सहज गर्ने र गुणस्तरीय औषधि उत्पादन गरी जनतालाई प्रत्यक्ष रुपमा सुविधा दिइ यो क्षेत्रलाई मेडिकल हब बनाउनु पर्ने उनको दावी छ । उनी भन्छन्, औषधिको वितरणमा मुख्य समस्या भनेको होलसेल जति क्षेत्रपाटी र मंगलबजार जस्ता ठाउँहरुमा छन् । जहाँबाट बिरामीले इमर्जेन्सीमा औषधि माग्दा दिन सक्ने अवस्था छैन । सरकारले यो संस्थाको दायित्वमा दिएर यो ठाउँलाई नेपाल औषधि हब बनाउन सके अन्तराष्ट्रिय रुपमा पनि एउटा पहिचान हुने थियो ।’

‘नेपालमा रेगुलेटेड औषधि मार्केट छ । रातीको समयमा पनि औषधि दिन सके । सर्जीकल सामानहरु पनि पाउने थियो । मेडिकल हब बनाउन डिपिआरहरु प्रक्रियामा छन् । अझै गर्न सकेका छैनौ’, उनले भने ।

औषधि उत्पादनलाई सुचारु राख्ने र दिर्घकालिन रुपमा यहाँको उत्पादनलाई अन्तराष्ट्रिय रुपमा चिनाउने लक्ष्य रहेको उनले बताए । उनले भने, ‘पहिले यो संस्थामा १४३ वटा उत्पादनहरु रहेका थिए । जीएमपीले विकासोन्मुख देशका लागि औषधि उत्पादनमा मस्यौदा नेपाललाई पठायो । तर नेपालमा भएका मेसिनहरुको मर्मत नगरेका कारण जीएमपीले पठाएको मस्यौदा अनुसार औषधि उत्पादन गर्न सम्भव नभएपछि यो संस्था नै बन्द भयो । जीएमपी नपाएका नीजि क्षेत्रहरुले भने औषधिहरु उत्पादन गरिरहे । तर यस संस्थाका व्यक्तिले औषधि उत्पादन सकिदैन भनेर छोडेपछि औषधि बनिरहेको बेलामा नै बन्द भयो ।’

पूर्व उद्योग मन्त्री स्वा.नविन्द्रराज जोशीले बन्द भएको नेपाल औषधि लिमिटेड २०६२ देखि फेरी सुचारु गर्न पहल गरेको उनले सुनाए । उनले भने, ‘नविन्द्रराज जोशीकाे पहलमा बन्द रहेको औषधि लिमिटेड २०६२ देखि फेरी सुचारु भयो । त्यस बेला सिटामोल र जीवनजल बनाउन सुरु गरियो तर औषधि बनाउन सुरु गरिए पनि बजार भने थिएन ।’

उनी भन्छन्, ‘सरकारले किनी दिनुपर्ने सिरिज थियो त्यो पनि भएन । सिटामोल र जीवनजल बनाउन सुरु गरे पनि बजार नपाएपछि यो संस्था फेरी पुरानै शैलीमा फर्किन लागेको थियो ।’ उनका अनुसार अहिले संस्थाले जीवनजल, स्यानिटाइजर, सिटामोल, ग्लीसिरिन र वाटर को उत्पादन गरिरहेको छ । ‘औषधिलाई नै पहिलो प्राथमिकतामा राखेका कारण ग्लीसिरिन भने जाडोको समयमा पनि माग अनुसार दिन सकेनौ हवाइजहाज र मेडिकल ल्याबमा प्रयोग हुने पानी पनि उत्पादन गरिरहेका छौ’, उनले भने ।

कुनै पनि संस्था चल्नका लािग आर्थिक रुपमा पनि सम्पन्न हुनुपर्ने उनले बताए । उनले भने , ‘हामीले थप १० वटा औषधि उत्पादन गर्न लागेका छौ । कुनै पनि संस्था चल्नका लागि आर्थिक रुपमा पनि सम्पन्न हुनपर्छ । पहिले अर्थमन्त्रालयबाट पैसा ल्याएर तलव दिने गरेको थियो । अहिले त्यो अवस्था छैन अहिले यहिको उत्पादनले धान्न सक्ने भएका छौ ।’

सिटामोलको उत्पादनमा घाटा व्यहोर्ने परेको उनले बताए । उनले भने, ‘सिटामोलको उत्पादन लागत एक रुपैयाँ तीस पैसा पर्ने गर्छ । बजारमा बेच्दा ७६ पैसामा दिएका छौ । ३६ पैसा त्यत्तिकै घाटामा नै गइरहेको छ । अन्य उत्पादनबाट भएको आम्दनीले मात्र धानिरहेका छौ ।’

उनका अनुसार अहिलेसम्म संस्था १ करोड १० लाख भन्दा बढी घाटामा गएको छ । जीवनजले पनि थोरै बजार लिन सकेको भए घाटालाई परिपूर्ति गर्न सकिने थियो उनले भने । उत्पादन क्षेत्रलाई अघि बढाउन पुराना मेसिनहरुको मर्मत सम्भार गर्ने र मेसिनहरुलाई पनि परिमार्जन गरेर सञ्चालन गर्ने योजना पनि बनाएको उनले सुनाए । उनले भने, ‘जीनपी अहिले पहिलो प्राथमिकतामा रहेको छ । यसका लागि डेढ करोड रुपैयाँ लगानी गर्नुपर्ने थियो । सरकारसँग बजेट माग्दा पनि आएन हामीसँग पनि स्रोत थिएन । यसका लागि युएसपी संस्थाले पनि सहयोग गरिदिए । राष्ट्रिय आविष्कार केन्द्रले पनि सहयोग गरेको छ ।’

उनका अनुसार फर्मासिस्ट नभइकन यो संस्था चल्दैन । नयाँ जनशक्तिहरु थप गरेका छैनौ उनले भने । यहि भएका जनशक्तिहरुलाई जिम्मेवारी परिवर्तन गरेर काम गरिरहेको उनले सुनाए । उनी भन्छन् ‘औषधिमा नेपालको बजार एकदम वृद्धि भइरहेको छ । विश्वमा अहिले ५ प्रतिशत वृद्धि भएको फर्मास्युटिकल्स नेपालमा ३५ प्रतिशत छ । आन्तरिक मागलाई नै पुरा गर्न सकेका छैनौ । यहाँको उत्पादनले अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्छ ।’

यो संस्था जनतालाई निःशुल्क रुपमा औषधि बाड्ने संस्था भएका कारण नीजि औषधि उद्योग सँग प्रतिस्पर्धा गर्ने नभएको उनले बताए । उनी भन्छन्, ‘हाम्रा उत्पादनहरु प्रतिस्पर्धा भन्दा पनि सेवामुलक रहेको छन । औषधिको राष्ट्रिय मागलाई सम्बोधन गर्न आएको संस्था हो । हाम्रो उद्देश्य बजार प्रतिस्पर्धा गर्ने भने हैन ।’ उनका अनुसार हाल संस्थामा ९१ जना कर्मचारीहरु रहेका छन् । सम्झना बरुवाल

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp