वित्तीय क्षेत्रमा तरलता छ, ब्याजदर पनि तल झर्योः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय क्षेत्रमा तरलता रहेको र ब्याजदर पनि तल झरेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले बजारमा ऋण प्रवाह बढ्न नसकेको बताएका हुन् ।
उनले भने, यसलाई वित्तीय असुरक्षाको अवस्था भनिन्छ । लगानी गर्दा स्वाभाविक कारणले नाफा हुन नसक्ने अवस्थाको जोखिम व्यवसायीले लिन्छ । तर अस्वाभाविक र नीतिगत परिवर्तनका कारण हुने घाटाका लागि उ तयार रहन्न । त्यसैले पर्ख र हेरको अवस्था रहन्छ ।
अध्यक्ष ढकालले अख्तियारले निजी क्षेत्रलाई पनि हेर्ने गरी आएको विधेयकलाई आफूहरूका पैरवीले उक्त व्यवस्थामा संशोधन हुने गरी छलफल भइरहेको बताए । उनले विधेयक जस्ताको त्यस्तै पारित भए लगानी थप निरुत्साहित हुने बताए । नेपालको बैंकिङ क्षेत्र व्यवस्थित रहेको भन्दै अध्यक्ष ढकालले कर्जाको दुरुपयोग हुन नदिने ग्यारेन्टी गर्नुपर्ने बताए ।