जेनजी आन्दोलनका कारण चौधरी समूहलाई करिब ५ अर्बको क्षति

५ असोज, काठमाडौं ।
भदौ २३ र २४ गते देशभरि भएको जेनजी आन्दोलनका क्रममा चौधरी समूह (सीजी) लाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति पुगेको समूहले जनाएको छ। आन्दोलनकारीद्वारा गरिएको तोडफोड, लुटपाट र आगजनीका कारण यस्तो क्षति भएको सीजीको दाबी छ।
अर्थमन्त्री रामेश्वर खनालले शनिबार सतुङ्गलस्थित सीजी इलेक्ट्रोनिक्स कारखानाको निरीक्षण गर्दा समूहले क्षतिग्रस्त व्यवसायको पुनरुत्थानका लागि विशेष राहत र सुविधा माग गरेको हो।
सीजीका अनुसार सतुङ्गलको इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनीले भवन, मेसिनरी, मौज्दात, तयारी सामान तथा सवारीसाधनहरू पूर्ण रूपमा नष्ट भएका छन्। सोही परिसरमा रहेको सीजी नेटको सर्भर र डाटा सेन्टरमा पनि क्षति पुगेको छ।
थापाथलीस्थित सीजी मोटर्सको शोरुम, हरिसिद्धि सर्भिस सेन्टर, रविभवन र बर्दघाटस्थित अध्यक्ष विनोद चौधरीको निवास तथा कार्यालय, ललितपुर र विशालनगरका इलेक्ट्रोनिक्स शोरुम, भरतपुरको सीजी ल्यान्डमार्क भवन र पसलहरू, जोरपाटीको चाँदबाग स्कुल लगायत विभिन्न स्थानका प्रतिष्ठानमा तोडफोड, लुटपाट र आगजनी भएको समूहले जनाएको छ। विद्यार्थी ओसारपसारका लागि प्रयोग हुने ६ वटा गाडीमा समेत आगो लगाइएको छ।
यति ठूलो क्षति हुँदा पनि सीजीले कुनै कर्मचारी नहटाउने प्रतिबद्धता जनाएको छ। सतुङ्गलस्थित इलेक्ट्रोनिक्स डिभिजनमा मात्रै १,००० भन्दा बढी प्रत्यक्ष रोजगारी र हजारौं अप्रत्यक्ष रोजगारी सिर्जना भएको समूहले स्मरण गराएको छ।
समूहले सरकार समक्ष दीर्घकालीन सुरक्षा प्रत्याभूति, बीमा दाबीको छिटो भुक्तानी, ऋण पुनर्संरचना र ब्याज मिनाहा, निर्माण सामग्री तथा प्लान्ट–मेसिनरीको पैठारीमा शतप्रतिशत छुट, क्षतिग्रस्त सवारीसाधनमा सहुलियत, लेखा परीक्षणमा लचकता र सेज बाहिरका उद्योगलाई पनि विशेष आर्थिक क्षेत्रसरह सुविधा दिने सुझाव राखेको छ।
सीजीले यो घटना नेपाली व्यवसायिक क्षेत्रका लागि गम्भीर चुनौती भएको र समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने भन्दै सरकारलाई तत्काल सहयोगका लागि पहल गर्न आग्रह गरेको छ।