अर्थतन्त्र सुस्तिँदै, असोजका लागि बैंकहरूको ब्याजदर थप घट्यो”

बैंकहरूले असोज महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । वाणिज्य बैंकहरूले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार औसतमा अधिकतम ब्याजदर ०.११ प्रतिशत बिन्दुले कम भएको छ ।
२० वाणिज्य बैंकहरूमध्ये ९ बैंकले ब्याजदर घटाएका छन् भने ३ बैंकले सामान्य बढाएका छन् । बाँकी ८ बैंकले भने भदौको ब्याजदरलाई यथावत राखेका छन् ।
स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले केही अवधिका लागि ब्याजदर सामान्य बढाएका छन् । उदाहरणका लागि, स्ट्यान्डर्ड चार्टर्डले ५ वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर ५.१३ प्रतिशतबाट बढाएर ५.१८ प्रतिशत पुर्याएको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगाले २ वर्षभन्दा बढी अवधिको मुद्दतिमा ब्याजदर ५.२५ प्रतिशत बनाएको छ ।
तर, अधिकांश बैंकले निक्षेप ब्याजदर घटाएका छन् । एनआईसी एशिया बैंकले भदौमा ६.२५ प्रतिशत रहेको अधिकतम ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएर असोजमा ६ प्रतिशत मात्र गरेको छ । प्राइम बैंकले पनि २ वर्षमाथिको मुद्दती निक्षेपमा भदौमा ६ प्रतिशत ब्याज दिएकोमा असोजमा ५.५ प्रतिशतमा झारेको छ ।
ग्लोबल आईएमई, माछापुच्छ्रे, एनएमबि र एनआईसी एशिया बैंकले भने व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६ प्रतिशत ब्याजदर दिने भएका छन् । यी बैंकहरूले ३ देखि ५ वर्षभन्दा बढी अवधिको निक्षेपमा मात्र उक्त ब्याजदर दिने व्यवस्था गरेका छन् ।
एभरेष्ट, सानिमा, सिटिजन्स, नेपाल बैंक, नेपाल एसबिआई, लक्ष्मी सनराइज, कुमारी बैंक र कृषि विकास बैंकले पनि असोजमा ब्याजदर घटाएका छन् । एभरेष्टले भदौको ५.७५ प्रतिशतलाई घटाएर ५.२५ प्रतिशतमा पुर्याएको छ भने सानिमाले पनि घटाएर ५.२५ प्रतिशत मात्र दिने भएको छ ।
यसअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर कोरिडोरका सबै दर घटाएपछि बैंकहरूले साउन र भदौमा ब्याजदर घटाएका थिए । असोजमा पनि सो प्रवृत्ति निरन्तरता पाएको छ ।
विशेषगरी, जेनजी आन्दोलनका कारण भदौ २३ र २४ गते ठूलो आर्थिक क्षति भएपछि तत्काल कर्जाको माग नबढ्ने देखिएको र तरलता प्रशस्त रहेको अवस्थाले पनि बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाउने निर्णय गरेको बताइएको छ ।