अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार आजको छलफलमा २० कम्पनीका प्रतिनिधि सहभागी भए । सूर्य नेपाल प्रालि, एनसेल आजियाटा, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी र हिमालय एयरलाइन्सका प्रतिनिधि सहभागी भए ।
यसैगरी होङ्सी सिमेन्ट, डुसान इनरबिलिटी कम्पनी, डाबर नेपाल, बोटलर्स नेपाल (तराइ), यूनिलिभर नेपालका प्रतिनिधि सहभागी भएको मन्त्रालयले जनाएको छ । यसैगरी एसियन पेन्ट्स, पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना, गोर्खा लाहारी, ह्वासिन सिमेन्ट, नारायणी प्रालि र न्यू होप एग्रो बिजनेस नेपाल प्रालिका प्रतिनिधि सहभागी भएका छन् । नेपाल वेलहोप एग्रीटेक प्रालि, वरुण बेभरेज, टर्की एयरलाइन्स, भोटेकोशी पावर कम्पनी र बर्जर जेन्सन एण्ड निकोल्सन नेपाल प्रालिका प्रतिनिधिको पनि उपस्थिति थियो ।
अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग छलफल गरेका हुन् ।
छलफलमा अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गरेका छन् ।
अर्थमन्त्रीले भने – निजी क्षेत्रको वैध लगानी, सम्पत्ति र नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन् ।
२० बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्रीले यस्तो बताएका हुन् । छलफलमा उनले नेपालको अर्थतन्त्र निर्माणमा पुर्याएको योगदानप्रति नेपाल सरकारका तर्फबाट सम्मान व्यक्त गरेका थिए ।
उनले भने, ‘तपाईंहरू केवल सफल व्यवसायी वा कम्पनीका प्रतिनिधि मात्र होइन, नेपालका सबैभन्दा ठूलो करदाता, सबैभन्दा ठूलो रोजगारदाता, सबैभन्दा ठूलो लगानीकर्ता र राष्ट्र निर्माणका अग्रणी साझेदार हुनुहुन्छ ।’ उनले बैठक औपचारिक भेटघाटका लागि नभइ, सरकार र राष्ट्र निर्माणमा अग्रणी भूमिका खेलिरहेका निजी क्षेत्रबीच नयाँ र गहिरो विश्वास, सहकार्य र प्रतिबद्धता भएको समेत बताए ।
उनले भने, ‘केही दिनयता मैले उद्योगी–व्यवसायी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकको नेतृत्वसँग लामो समय छलफल गर्ने अवसर पाएँ । ती सबै छलफलबाट एउटा साझा निष्कर्ष आएको छ- नेपालको आर्थिक रूपान्तरण कुनै एक मन्त्रालय, कुनै एक नीति वा कुनै एक संस्थाले मात्र होइन, यसको नेतृत्व सरकार र निजी क्षेत्रले सँगै गर्नुपर्छ ।’
सोही अनुसार सरकारको धारणा सुनाउनभन्दा बढी देशका सबैभन्दा बढी लगानी गरेका र सबैभन्दा बढी जोखिम उठाएका उद्यमीहरूको अनुभव सुन्न आएको उनले बताए । उनले यस वर्षको बजेटमार्फत एउटा स्पष्ट सन्देश दिएको भन्दै अगाडी भने, ‘सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले होइन, साझेदारको दृष्टिले हेर्छ । हामी विश्वास गर्छौँ कि निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार हो ।’ उनले अब सरकारको प्राथमिकता केवल कर संकलन बढाउनु नभइ उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनु भएको उल्लेख गरे ।
उनले भने, ‘जब उद्योगले नाफा कमाउँछ, त्यही नाफा पुनःलगानी हुन्छ । पुनःलगानीले उत्पादन बढाउँछ । उत्पादनले रोजगारी सिर्जना गर्छ । रोजगारीले आम्दानी बढाउँछ। आम्दानीले बजार विस्तार गर्छ।अन्ततः त्यसबाट राज्यको राजस्व पनि बढ्छ । त्यसैले सरकार र निजी क्षेत्रको सम्बन्ध शून्य–योग सम्बन्ध होइन, दुवैको सफलता एकअर्काको सफलतासँग जोडिएको छ ।’
उनले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताए । उनले भने, ‘उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित छ, नियम स्थिर छन्, कर प्रणाली पूर्वानुमानयुक्त छ र राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास गर्न सक्नुपर्छ ।’ त्यो विश्वास निर्माण नगरी ठूलो लगानी नआउने उनको भनाइ छ ।
उनले नेपालमा अझ ठूलो लगानी गर्न आह्वान समेत गरे । उनले भने, ‘भएका उद्योग विस्तार गर्नुहोस्, नयाँ उत्पादनमा प्रवेश गर्नुहोस्, नयाँ प्रविधि भित्राउनु होस, नयाँ रोजगारी सिर्जना गर्नुहोस् ।’
Heading3