गरिमा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे मंसिर २६ गते, साेमबार, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १६औँ वार्षिक साधारण सभा पाैष २२ गते, शुक्रबार होटल पोखरा ग्राण्ड, बिरौटा, कास्कीमा बिहान १० बजेबाट सुरु हुनेछ ।
सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १.५० प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ८ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ७ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।