तिहारमा ६४ करोड ५० लाखको फूल कारोबार हुने अनुमान, २ लाख माला विदेश निर्यात गरिँदै
काठमाडौं । यस वर्षको तिहारमा देशभर ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार तिहारको पाँच दिनमा फूलका मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँ बराबरको कारोबार हुनेछ।
मालाबाहेक घर, आँगन तथा कार्यालय सजाउन प्रयोग हुने फूलका थुँगा र गमलासमेत जोड्दा यस वर्ष तिहारमा समग्र पुष्प व्यवसायको कारोबार ६४ करोड ५० लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।
फ्यानले सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्ष सबैभन्दा बढी ४५ लाख वटा सयपत्री फूलका माला खपत हुने अनुमान छ। प्रतिमाला औसत ९० रुपैयाँ थोक मूल्यका आधारमा सयपत्री मालाबाट मात्रै ४० करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने देखिएको छ।
त्यस्तै, प्रतिमाला औसत ४५ रुपैयाँ पर्ने ६ लाख वटा मखमली मालाबाट २ करोड ७० लाख रुपैयाँको कारोबार हुने अनुमान छ। औसत १ हजार २०० रुपैयाँ पर्ने २० हजार वटा गोदावरीका माला र औसत ४०० रुपैयाँ पर्ने ६० हजार वटा विभिन्न फूल मिसाइएका (मिक्स) मालाबाट क्रमशः २ करोड ४० लाख रुपैयाँका दरले कारोबार हुने प्रक्षेपण छ।
मालाबाहेक ३५ लाख सयपत्री फूलका थुँगा बिक्रीबाट १० करोड ५० लाख रुपैयाँ र ८ लाख गोदावरीका गमला बिक्रीबाट ६ करोड रुपैयाँको कारोबार हुने फ्यानले जनाएको छ।
सातै प्रदेशमा व्यावसायिक फूल खेती विस्तार
नेपालमा पछिल्ला वर्षमा सयपत्री फूलको व्यावसायिक उत्पादन उल्लेख्य रूपमा बढ्दै गएको छ। फ्यानका अनुसार अहिले सातै प्रदेशका विभिन्न जिल्लामा २२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्रीको व्यावसायिक खेती भइरहेको छ।
काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिरहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ र कैलालीलगायत जिल्लामा सयपत्री फूलको व्यावसायिक उत्पादन हुँदै आएको छ।
फूल उत्पादन र बजार विस्तार हुँदै जाँदा यसले कृषक तथा पुष्प व्यवसायीको आम्दानी बढाउन र फूल आयात प्रतिस्थापन गर्न योगदान पुर्याएको एसोसिएसनले जनाएको छ।
मखमलीमा आत्मनिर्भर, २ लाख माला विदेश निर्यात हुने
नेपाल मखमली फूलको उत्पादनमा पूर्णरूपमा आत्मनिर्भर बनेको फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले दाबी गरेका छन्।
यस वर्ष मखमली फूलका ६ लाख मालाको माग रहेकामा करिब ४ लाख माला आन्तरिक बजारमा खपत हुने र बाँकी २ लाख माला विदेश निर्यात हुने अनुमान छ।
काठमाडौंको इचङ्गुनारायण, भक्तपुरको गुन्डु, ललितपुरको गोदावरी–बडिखेलसहित धादिङ, पाल्पा, कैलाली र इलामलगायत क्षेत्रमा मखमली फूलको व्यावसायिक उत्पादन हुँदै आएको छ।
बाढीपहिरोले सयपत्री उत्पादनमा क्षति, ११ प्रतिशत आयात गर्नुपर्ने
गत वर्ष तिहारमा ४० लाख वटा सयपत्री मालाको खपत भएकोमा यस वर्ष माग बढेर ४५ लाख पुगेको छ। तर, गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण सयपत्री फूल खेतीमा क्षति पुगेको एसोसिएसनले जनाएको छ।
बाढीपहिरोबाट उत्पादनमा क्षति पुगे पनि आन्तरिक उत्पादनबाट करिब ४० लाख माला आपूर्ति हुने अनुमान छ। बाँकी करिब ५ लाख माला अर्थात् कुल मागको ११.११ प्रतिशत आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको फ्यानले जनाएको छ।
एसोसिएसनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन उपभोक्ता तथा व्यापारीलाई आग्रह गरेको छ। उत्पादन क्षेत्रबाट बजारसम्म फूलको सहज ढुवानी र उचित मूल्य निर्धारणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि एसोसिएसनले जनाएको छ।
फ्यानका अध्यक्ष श्रेष्ठले स्वदेशी फूलको प्रयोगले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए।
“तिहारमा स्वदेशी फूल प्रयोगलाई प्राथमिकता दिनु भनेको नेपाली कृषक र पुष्प व्यवसायीलाई प्रत्यक्ष रूपमा सहयोग गर्नुका साथै स्वदेशी उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्रोत्साहन गर्नु हो,” उनले भने, “यसर्थ फूलका उपभोक्ता तथा सरोकारवाला निकाय सबैबाट आवश्यक सहयोग हुनेछ भन्ने अपेक्षा गरेका छौं।”
