व्यक्तिगत आवासीय क्षेत्रमा जाने कर्जा सुस्त
व्यक्तिगत आवासीय क्षेत्रमा जाने कर्जा सुस्त नै देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २ महिनाको अवधिमा १ अर्ब २८ करोड रुपैयाँ मात्र प्रवाह भएको छ । वाणिज्य बैंकहरुबाट २०८१ जेठ मसान्तसम्म व्यक्तिगत आवासीय क्षेत्रमा ३ खर्ब १५ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा साउन मसान्तमा आइपुग्दा ३ खर्ब १६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।
असार मसान्तको तुलनामा साउनमा वाणिज्य बैंकहरुबाट व्यक्तिगत आवासीय कर्जा ०.०९ प्रतिशतले मात्र बढेको तथ्यांक छ । साउनमा जम्मा २९ करोड रुपैयाँ कर्जा बढेको हो। २० मध्ये ११ बैंकको कर्जा घट्न पुगेको छ ।
अधिकांश बैंकहरुले स्थिर ब्याजदरमा एकल अंकको कर्जा स्किम सार्वजनिक गरेका छन्। नबिल बैंकले ७ वर्ष अवधिका लागि नबिल ढुक्क घर कर्जा ७.९९ प्रतिशत ब्याजदरमा ल्याएको छ। तर बैंकले साउन महिनामा व्यक्तिगत आवासीय कर्जा जम्मा १६ करोड रुपैयाँ विस्तार गरेको छ।
कुनै व्यक्तिले ८ प्रतिशत स्थिर ब्याजदरमा १० वर्षका लागि २० लाख रुपैयाँ घर कर्जा लिए मासिक ३० हजार रुपैयाँ किस्ता तिरे पुग्छ।
मासिक ५० हजार रुपैयाँ आम्दानी हुनेले २५ देखि ३० लाखसम्म घर कर्जा पाउँछ। त्योभन्दा बढी कर्जा लिन आम्दानी पनि बढी चाहिन्छ।
कुमारी बैंकले ८.५९ प्रतिशत ब्याजदरमा घर कर्जाको स्किम ल्याउँदा पछिल्लो एक महिनामा यो क्षेत्रमा जम्मा १४ करोड ऋण प्रवाह भएको छ।
प्रभु बैंकको व्यक्तिगत आवासीय कर्जा असारको तुलनामा साउनमा ०.१३ प्रतिशतले घटेको छ। लक्ष्मी सनराइज बैंकले न्यूनतम ८.९९ प्रतिशतदेखि अधिकतम ११.९९ प्रतिशतसम्म स्थिर ब्याजदरको कर्जा स्किम ल्याएकामा साउनमा व्यक्तिगत घर कर्जा २१ करोडले घटेको छ।
हिमालयन बैंकले १० प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा स्किम ल्याएकामा २.२० प्रतिशतले ऋण खुम्चिन पुगेको छ।
व्यक्तिगत आवासीय कर्जाको स्थिति
बैंक | घर कर्जा २०८१ असार (रु. दश लाखमा) |
घर कर्जा २०८१ साउन (रु. दश लाखमा) |
फरक प्रतिशतमा |
प्राइम कमर्सियल | ८,१०७.३३ | ८,१७४.९७ | ०.८३ |
माछापुच्छ्रे | ६,३७३.३५ | ६,३६१.९२ | -०.१८ |
नेपाल एसबिआइ | २,२८५.६५ | २,२९४.४९ | ०.३९ |
कुमारी | १२,५६६.५७ | १२,७०६.६२ | १.११ |
कृषि विकास बैंक | ११,१९४.८४ | ११,१०३.११ | -०.८२ |
प्रभु | १३,६६५.६१ | १३,६४८.३६ | -०.१३ |
सानिमा | ८,३९५.४२ | ८,५१२.५८ | १.४० |
एनएमबि | १५,२७३.५० | १५,५६८.०१ | १.९३ |
लक्ष्मी सनराइज | १८,८७९.८६ | १८,६६८.२७ | -१.१२ |
एनआईसी एसिया | ५९,४६९.२२ | ५८,३२५.१६ | -१.९२ |
राष्ट्रिय वाणिज्य | २४,९२४.९२ | २५,१६७.४१ | ०.९७ |
नबिल | २५,८६१.७९ | २६,०२३.३२ | ०.६२ |
ग्लोबल आइएमई | ३३,००३.६६ | ३३,९३९.८२ | २.८४ |
स्ट्यान्डर्ड चार्टर्ड | ८,६३१.७१ | ८,६१४.५७ | -०.२० |
नेपाल | ९,५८२.६१ | ९,५५४.१८ | -०.३० |
एभरेष्ट | २२,९१८.२८ | २२,८७७.२८ | -०.१८ |
नेपाल इन्भेष्टमेन्ट मेगा | ७,९५७.७४ | ७,८६५.३५ | -१.१६ |
सिटिजन्स | ९,८५१.६६ | ९,८३०.३६ | -०.२२ |
सिद्धार्थ | ११,८९३.२९ | १२,००१.९५ | ०.९१ |
हिमालयन | ५,२५२.०० | ५,१३६.६९ | -२.२० |
औसत | ३१६,०८९.०१ | ३१६,३७४.४२ | ०.०९ |