अमेरिकी उपमन्त्री काठमाडौं आउँदै

४ जेष्ठ २०७९, बुधबार ०५:००

अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया तीनदिने भ्रमणका लागि शुक्रबार काठमाडौं आउने भएकी छन् ।

नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध ७५ वर्ष पुगेको अवसरमा अमेरिकाबाट एकपछि अर्को माथिल्लो तहको भ्रमण हुने क्रममा जिया पनि आउन लागेकी हुन् । उक्त भ्रमणका सन्दर्भमा परराष्ट्र मन्त्रालयले भने कुनै आधिकारिक धारणा बाहिर ल्याएको छैन । परराष्ट्र स्रोतका अनुसार उपमन्त्री जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

अमेरिकाले नेपालमा रहेका करिब १० हजार तिब्बती शरणार्थीप्रति चिन्ता व्यक्त गर्दै उनीहरूलाई परिचयपत्र उपलब्ध गराउन आग्रह गर्दै आएको छ । तर एक चीन नीतिमा कटिबद्ध नेपालले सन् १९९५ देखि तिब्बती शरणार्थीलाई परिचयपत्र दिन बन्द गरिसकेको छ । नेपाल सरकारले आफ्नो भूमिमा चीनविरोधी गतिविधिलाई रोक्दै आएको छ । नेपाल सरकारले आफ्नो भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता निरन्तर गर्दै आएको छ ।

उपमन्त्री जियाको यो भ्रमण झन्डै एक दशकमा नेपालमा हुन लागेको अमेरिकी अधिकारीहरूको उच्चस्तरीय भ्रमण हो । यसअघि सन् २०१२ मा अमेरिकाका दुई उपसचिव वेन्डी शेरम्यान र मारिया ओटेरोले नेपाल भ्रमण गरेका थिए । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *